नेपालको असहमतिबीच लिपुलेकबाट भारत–चीन सीमा व्यापार पुनः सुरु

काठमाडौं। नेपालको विरोध र दाबी कायम रहेकै अवस्थामा भारत र चीनले विवादित लिपुलेक नाका हुँदै सीमा व्यापार पुनः सुरु गरेका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार करिब ६ वर्षपछि उत्तराखण्डको पिथौरागढ जिल्लास्थित लिपुलेख दर्रा हुँदै भारत–चीन सीमा व्यापार पुनः सञ्चालनमा आएको हो। पहिलो चरणअन्तर्गत शनिबार भारतीय व्यापारीहरूको टोली चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ताक्लाकोट मण्डी पुगेको बताइएको छ।दुवै देशका सम्बन्धित निकायले आवश्यक भन्सार तथा अध्यागमन प्रक्रिया पूरा गरेपछि व्यापार औपचारिक रूपमा सुरु गरिएको जनाइएको छ।

धार्चुलाका उपविभागीय मजिस्ट्रेट आशिष जोशीका अनुसार इन्डो–तिब्बती व्यापार सङ्घका अध्यक्ष जीवन सिंह रौक्लीको नेतृत्वमा १६ जना दर्ता भएका व्यापारी र चार सहयोगीसहित २० सदस्यीय टोलीले गुन्जीस्थित अध्यागमन कार्यालयमा सबै आप्रवासन प्रक्रिया पूरा गरेको थियो। टोलीले नाबिधाङमा रात बिताएपछि शनिबार बिहान लिपुलेख दर्रा हुँदै तिब्बत प्रवेश गरेको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान चिनियाँ अधिकारीहरूले लिपुलेख नाकामा आवश्यक औपचारिकता पूरा गरेपछि भारतीय व्यापारीहरूलाई तिब्बत प्रवेशको अनुमति दिएका थिए। त्यससँगै सन् २०२६ को भारत–चीन सीमा व्यापार सिजन औपचारिक रूपमा सुरु भएको हो।उपविभागीय मजिस्ट्रेट जोशीले अन्य दर्ता भएका व्यापारीलाई पनि चरणबद्ध रूपमा ताक्लाकोट पठाउने तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार त्यसका लागि चिनियाँ अधिकारीहरूसँग इमेलमार्फत समन्वय जारी रहेको छ।

लिपुलेक क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय सीमासँग जोडिएको संवेदनशील भूभाग हो। नेपालले यस क्षेत्रलाई आफ्नो सार्वभौम भूभाग भएको दाबी गर्दै आएको छ भने भारतले उत्तराखण्डतर्फबाट लिपुलेक नाकाको प्रयोग गर्दै आएको छ। यही विषयलाई लिएर विगतदेखि नेपाल र भारतबीच कूटनीतिक मतभेद रहँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *