क्रान्ति बचाउने कि कुर्सी ? शिव बस्नेत

अभिवादन, कमरेड !
संघर्षका भीषण आँधीबेहरीमा एउटै ओतमा सुतेका हामीमध्ये तिमी सत्ताको उचाइमा पुग्यौ। कहिलेकाहीँ काठमाडौंका महँगा रेष्टुरेन्टमा बसेर चियाको चुस्की त सँगै लिइयो, तर पार्टी कार्यालयमा समय माग्दै, क्वाटरको ढोकाबाहिर घण्टौँ कुरेर पनि क्रान्तिका ती दिन सम्झेर दुई शब्द आत्मीयता साट्ने अवसर कहिल्यै मिलेन। स्वकीय सचिवको तजबिजीले कहिलेकाहीँ भेट त जुरायो, तर साथीको हैसियतले होइन, कुनै निवेदकको जस्तो।
सुन्छु ! आज सम्पति शुद्धिकरण, विभिन्न घोटाला, जग्गा जस्ता मुद्दामा तिम्रो पनि नाम आएको छ रे ! बरु मुक्तियुद्धको मुद्धा लागेको भए मलाई नै लागेको ठान्न सकिन्थ्यो । यस्ता मुद्धामा विश्वास त छैन । असत्य सावित होस ।

आमाले बनाएको गुन्द्रुक, ढिँडो, गाउँका किसानको ठेकीको दही, च्याख्ला र पिठो बिर्सिँदै जाँदा, गाउँका ती बा-आमा पनि बिर्सिइएछन्। शत्रुको आँखा छल्दै आमाले मजेत्रो ओढाएर लुकाएको र बाले आफ्नै स्टकोट फुकालेर दिएको माया र गुन काठमाडौंका महल र एसीको चिसो हावामा कतै हराएछ।
सानी बहिनीले नाकको बुलाकी र कानको सानो ढुंग्री बेचेर छापामार कमाण्डरलाई खर्च जुटाएकी थिइन्। आफैँ बन्दुक बोकेर हिँडिन्, शहीद भइन्। आज उनको परिवार कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने तिम्रो डायरीमा लेखिएको छैन। तर माओवादीलाई आतंककारी भनेर लेख्ने डिग्रीधारी महिलाको सम्मानमा डेलिगेशन जानुपर्ने सूची भने तयार छ।
काखमा दुधेबालक बोकेर शत्रुको किल्ला नजिकै ड्युटीमा खटिएकी ती नारीको योगदानभन्दा, टेलिभिजनमा बसेर क्रान्तिलाई गाली गर्नेहरूको प्रशंसा गर्नुपर्ने दिन आएको छ। तिमीसँगै योजना बनाउँदै छेउमै घाइते भएको साथी क्यान्सरले थलिएको छ, औषधि र किमो नपाएर मृत्युशैयामा छटपटाइरहेको छ। तर उसका पीडा सुन्ने फुर्सद कसैलाई छैन। किनभने आज प्राथमिकतामा छापामारको घाउ होइन, “साइबर सेना” परेको छ।
हो, साइबर सेना चाहिएको छ रे!
तर त्यो छापामारको छोरा, जो आईटी पढेर राम्रो ज्ञान लिएर बसेको छ, उसको बाउ भने या त अरबको गर्मीमा पसिना बगाइरहेको छ, या ऋणको भारीले थिचिएको छ। उसलाई अझै याद छ—एक दिन तिम्रो कुर्सीको सामुन्ने उसको सानो छोरो खेल्न गएको बेला तिम्रो छोराको खेलौना छुन नदिइएको अपमान। आज त्यही छोरो आफ्नो बाउलाई सोध्छ—
“बा, साइबर सेना भनेको केका लागि हो ?”
बाउ घाँटीसम्म “क्रान्ति” शब्द ल्याउँछ, तर मुखबाट निकाल्न सक्दैन। किनभने उसले आफ्नो जीवन दिएर जोगाएको क्रान्ति अब उसलाई आफ्नै जस्तो लाग्न छोडिसकेको छ।
कमरेड, कस्तो साइबर सेना बनाउने हो तिमी? त्यो, जसले फेसबुकमा गालीको जवाफ देला? कि त्यो, जसले क्यान्सरले थलिएका पुराना लडाकुको औषधि किनिदेला?
आज तिनै छापामारका वृद्ध बा-आमा र सन्तानहरूले आफ्नो रगतले सिँचेको पार्टीलाई मत हाल्न मानेका छैनन्। तिनै सुकुम्बासी, जसले “हाम्रो व्यवस्था आएपछि हामी सुकुम्बासी रहनुपर्दैन” भन्ने विश्वासमा मत दिएका थिए, आज आफ्नै सन्तानले भन्छन्—”अब भोट नहाल।”
सायद तिम्रो स्वकीय सचिव र सल्लाहकारले उनीहरूको पीडा तिम्रो कार्यतालिकामा लेख्न बिर्सिए।
शान्तिपछि म आफैँ गम्भीर नसाको रोगले अस्पतालको बेडमा पुगेँ। ऋण गरेर शल्यक्रिया गराएँ। अर्धशरीर लिएर आज सामाजिक सञ्जालमा यो लेख्दैछु। तर तिमी, जो पार्टीको उच्च कमान्डमा बसेर नीति बनाउँदैछौ, तिमीले एकपटक पनि “साथी, कस्तो छौ?” भनेर सोध्ने विवेक देखाएनौ।
सायद व्यस्त थियौ। सायद म अब आवश्यक मान्छे थिइनँ। सायद क्रान्तिको इतिहासमा हाम्रो नाम फुटनोटमै सीमित भइसकेको छ।
तर सम्झ, कमरेड—
क्रान्ति साइबर सेनाले जितेको थिएन। क्रान्ति फेसबुकको पोस्टले जितेको थिएन। क्रान्ति त आमाको मजेत्रोले, बाको स्टकोटले, बहिनीको बुलाकीले, विधवाको आँसुले, घाइते छापामारको रगतले र हजारौँ नाम नलेखिएका मानिसहरूको त्यागले बचेको थियो।
यदि ती मानिसहरू तिम्रो स्मृतिबाट मेटिइसकेका छन् भने, कुर्सी जोगाउन साइबर सेना बनाउला, तर इतिहास जोगाउन अब कुनै सेना बाँकी रहनेछैन।
लाल सलाम, कमरेड ! तर यो सलाम अब हातबाट होइन, घाउले भरिएको छातीबाट निस्किएको अन्तिम प्रश्न हो— क्रान्ति बचाउने कि कुर्सी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *