पूर्ण खोपबाट ४० हजार बढी बालबालिका वञ्चित

काठमाडौं । नेपालमा अझै पनि ८ प्रतिशत बालबालिका पूर्ण खोप सेवाबाट वञ्चित रहेको तथ्य सार्वजनिक भएको छ। आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार सन् २०२५ मा ९२ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप पाएका छन्। अघिल्लो वर्ष सन् २०२४ मा भने यो दर ९५.९ प्रतिशत रहेको थियो।

नेपालमा खोप लगाउन योग्य बालबालिकाको संख्या करिब ५ लाख १० हजार रहेको छ। सोही आधारमा करिब ४० हजार ८ सय बालबालिका पूर्ण खोपको पहुँचभन्दा बाहिर रहेको देखिएको हो।

सरकारले बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध ९ वटा नियमित खोप उपलब्ध गराउँदै आएको छ। बीसीजी, पोलियो, पेन्टाभ्यालेन्ट, रोटा भाइरस, निमोनिया, दादुरा–रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइडविरुद्धका खोप नियमित कार्यक्रमअन्तर्गत दिइन्छ।

पूर्ण खोप भन्नाले सरकारले निर्धारण गरेका सबै अनिवार्य खोप समयमै प्राप्त गर्नु हो। कुनै एक खोप छुटेमा पनि बालबालिका पूर्ण खोपयुक्त मानिँदैनन्।

स्वास्थ्य मन्त्रालयका अनुसार खोप कार्यक्रममा देखिएको कमीको एउटा कारण लक्षित जनसंख्याको यथार्थ अनुमान नमिल्नु पनि हो। यद्यपि सर्वेक्षणका क्रममा केही बालबालिका खोप सेवाबाट छुटेको तथ्य पुष्टि भएको बताइएको छ।

मन्त्रालयले छुटेका बालबालिका पहिचान गरी खोपको पहुँचमा ल्याउन सबै ७७ जिल्लालाई स्थानीय तहसम्म समन्वय गर्न निर्देशन दिएको जनाएको छ।

नेपालको नियमित खोप कार्यक्रममा हरेक वर्ष तीन अर्ब रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। कार्यक्रममा सरकारसँगै विभिन्न अन्तर्राष्ट्रिय साझेदार संस्थाको समेत सहयोग रहँदै आएको छ।

विशेषज्ञहरूका अनुसार खोप नपाउँदा बालबालिकामा विभिन्न संक्रामक रोगको जोखिम बढ्ने भएकाले समयमै पूर्ण खोप सुनिश्चित गर्न आवश्यक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *