‘कायरा’ आइन् बजारमा

‘हुन त कायरा नाम मात्रकी केटी हो’ मानिसहरू भन्ने गर्छन्, ‘बानी व्यहोरा सबै केटाकै जस्तो छ।’
त्यसो त कायरा अलिअलि केटाहरूझैँ बोल्ने, हिँड्ने र व्यवहार गर्ने खालकी नै छिन् । तर उनलाई कसैले काय अर्थात् शरीरसँग जोडेर टिप्पणी गरेको भने पटक्कै चित्त बुझ्दैन । किनभने कायरा कसैले पनि आफ्ना व्यवहार, पहिरन, आवाज, स्वभावका आधारमा अपमानित महसुस गर्नु हुँदैन भन्ने मान्यता राख्छिन् । सुन्दै विचित्र भावहरू पैदा गर्ने कायरा आख्यानकी पात्र मात्र होइन, उनी जस्ती भुक्तभोगी वास्तविक संसारमा पनि थुप्रै छन् ।
अल्केमी प्रकाशनद्वारा आयोजित लैङ्गिक समानता, लैङ्गिक अधिकार, बालबालिकाको स्वतन्त्रता जस्ता विषयवस्तुमा आधारित लघुउपन्यास ‘कायरा’ को शनिबार विमोचन भयो। कार्यक्रममा लेखिका सविता खनालद्वारा प्रस्तुत गरिएको पुस्तकले लैङ्गिक पहिचानका विविध आयामहरू, सामाजिक संरचना तथा वर्तमान चुनौतीहरूलाई सरल ढंगले उजागर गरेकी छन्। पुस्तकले लैङ्गिक अल्पसंख्यक समुदायका अधिकार, अवसर र समान व्यवहारको आवश्यकता माथि गहिरो विश्लेषण प्रस्तुत गर्दछ। लेखिकाले उठाएको किशोर मनोविज्ञान अहिलेको सन्दर्भमा सबै विद्यार्थी र अभिभावकले पढ्नुपर्ने भन्दै समालोचक डा. कृष्ण सुवेदी भारद्वाजले भने, ‘किशोर, युवा, विद्यार्थी, शिक्षक र नीति निर्माता अनि समाज परिवर्तनका वाहकहरू नै यस कृतिका लक्षित पाठकहरू हुन्। ’ लेखिकाले भनिन् ‘लिङ्गकै आधारमा भेदभाव गर्नु हुँदैन भन्ने सार व्यक्त गर्दै मैले यो पुस्तक लेखेकी हुँ ।’ त्यसैगरी ब्लु डायमन्ड सोसाइटीकि अध्यक्ष, युनिशा पाण्डेले पनि सोही कुरामा सहमति जनाउँदै हामी त जीवित कायरा हौँ भन्दै महिला, पुरुष नभई व्यक्ति भनेर सम्बोधन गरिनुपर्ने भन्ने भाव व्यक्त गरिन्। कार्यक्रमका सभापति घनश्याम खड्काले ‘काय’ अर्थात् शरीर हो र शरीरको तहमा आफूलाई रक्षा गर्दा मान्छे डरपोक अथवा ‘कायर’ वा ‘कायरा’ भएर बाँच्नुपर्ने विष्मता हुन्छ तर, मानिस शरीर मात्र होइन, मानिस त चैतन्य हो भन्दै यस पुस्तकको शीर्षकको अर्थ प्रष्ट पारे।
यो पुस्तक विमोचन कार्यक्रम केवल साहित्यिक उत्सव मात्र नभई सामाजिक चेतनाको सशक्त माध्यमका रूपमा सफल रह्यो। लैङ्गिक पहिचान र समानताजस्ता संवेदनशील विषयलाई गम्भीरता र जिम्मेवारीका साथ प्रस्तुत गरिएको यस कृतिले नीति निर्माता, शिक्षार्थी र सर्वसाधारण सबैका लागि मार्गदर्शक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। यस्ता प्रयासहरूले समावेशी, न्यायपूर्ण र समान अधिकारयुक्त समाज निर्माणतर्फ महत्वपूर्ण कदम चाल्ने विश्वास गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *